काठमाडौँ –विष्णुमति खोलामा आएको बाढीले एउटा कार बगाएको छ । कारमा सवार एक जना महिलाको भने सकुशल उद्धार गरिएको छ । उद्धार हुनेमा दाङको तुलसीपुर घर भइ हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीया भावना ओली रहेकी छिन् । यात्रुसहित कार बगाएको सूचनापश्चात ४५ जना प्रहरी खटिएर खोजी गर्ने क्रममा कार बानियाटार पुलमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । बाढीले बगाएको कारका चालक ३५ वर्षीय अंकुश सिंहले खोला किनारमा हाम फालेर ज्यान जोगाएका थिए । त्यस्तै, बगाएको कार भित्र रहेकी ३४ वर्षीया भावना ओली प्रहरी र स्थानीयले बानियाटार पुल नजिकबाट सकुशल उद्धार गरेका थिए । उक्त कारलाई राति पौने १२ बजेतिर क्रेनको सहायताले बाहिर निकालिएको थियो ।

